नेप्से दोहोरो अंकले बढ्यो
२२ साउन काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार बजार परिसूचक नेप्से १०.२७ अंक (०.४९ प्रतिशत) ले बढेर २१२३.८२ अंकमा बन्द भएको छ । जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतबार होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले वृद्धि भएको छ । बजार परिसूचक बढे पनि अघिल्ला कारोबार दिनको भन्दा कारोबार रकम भने घटेको छ । आइतबार बजारमा ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजारको कारोबार भएको छ । गत बुधबार ४ अर्ब र बिहीबार ३ अर्ब ७७ करोड रुपैयाँ को कारोबार भएको थियो । शुक्रबार दुई घण्टाको कारोबारमा २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।
यता नयाँ सारथी लघुवित्तको सेयरमूल्य ३.४८ प्रतिशतले गिरावट हुँदा सामलिङ पावरको सेयरमूल्य ३.४३ प्रतिशत र ग्रामीण विकास लघुवित्तको सेयरमूल्य ३.३८ प्रतिशतले घटेको छ ।