१३ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढ्यो
२४ साउन काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २६ वाणिज्य बैंकहरूमध्ये १२ बैंकहरूले अघिल्लो वर्षको तुलनामा निष्क्रिय कर्जा घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंकसँगै नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबि बैंक, मेगा बैंक नेपाल, प्रभु बैंक, सेञ्चुरी वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक र एनआईसी एशिया बैंकले अघिल्लो वर्षभन्दा गत वर्ष निष्क्रिय कर्जा घटाएका हुन् ।
नाफासँग प्रत्यक्ष सम्बन्ध रहने निष्क्रिय कर्जा गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक प्रतिशत विन्दुले घटाएको हो । अघिल्लो वर्ष ३ दशमलव शून्य ७ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा गत वर्ष २ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा १ दशमलव शून्य ७ प्रतिशत विन्दुले घटेको हो ।
कुनै पनि कम्पनीको निष्क्रिय कर्जा बढ्दा सम्भावित जोखिम शीर्षकमा बढी रकम छुट्याउनुपर्ने कारण सञ्चालन नाफा घट्न गई खुद नाफामा असर पर्ने हुन्छ । यसर्थ यस वर्ष सर्वाधिक निष्क्रिय कर्जा घटाउन सफल भएको राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३७ दशमलव ३८ प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू. ३ अर्ब ७९ करोडभन्दा बढी खुद नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष रू. ५ अर्ब २१ करोडभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष कुमारी बैंकको निष्क्रिय कर्जा स्थिर रहेको छ । अघिल्लो वर्ष शून्य दशमलव ९६ प्रतिशत रहेको कुमारी बैंकको निष्क्रिय कर्जा गत वर्ष पनि सोही अनुपातमा कायम भएको हो ।
गत वर्ष १३ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा भने बढेको छ । यीमध्ये नबिल बैंकको निष्क्रिय कर्जा सर्वाधिक प्रतिशत विन्दुले बढेको हो । अघिल्लो वर्ष शून्य दशमलव ८४ प्रतिशत रहेको नबिल बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ७० प्रतिशत विन्दुले बढेर १ दशमलव ५४ प्रतिशत पुगेको हो ।
नबिलले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गरी असार २७ गतेदेखि एकीकृत कारोबार शुरू गरेको हो । निष्क्रिय कर्जा बढेको नबिलको खुद नाफा ९ दशमलव ८३ प्रतिशत मात्र बढेको छ । अघिल्लो वर्ष रू. ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको नबिलले गत वर्ष रू. ४ अर्ब ९७ करोडभन्दा बढी खुद नाफा गरेको हो ।
नबिल बैंकसँगै गत वर्ष प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक र सन्राइज बैंकको समेत निष्क्रिय कर्जा बढेको हो ।