बालाजु बाइपासको आगलागी दुई घण्टापछि नियन्त्रणमा
२५ साउन काठमाडौं । करिब दुई घण्टापछि बालाजु बाइपासस्थित एक जुत्ता कारखानामा भएको आगलागी नियन्त्रणमा आएको छ । वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो पाँचवटा दमकलको सहायतामा नियन्त्रणमा लिइएको हो ।
जुद्ध वारुणयन्त्रका प्रमुख चन्दनकुमार श्रेष्ठले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जानकारी दिए ।आगलागी नियन्त्रण गर्न पाँच दमकल परिचालन गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत कर्मचारी आगलागी नियन्त्रणमा खटिएका थिए ।
“आगलागी नियन्त्रण गर्नका लागि दुई टहरा भत्काइएको छ । एउटा टहरामा जुत्ता कारखाना र अर्को टहरामा क्राउड ट्रेडिङ एन्ड लेमिनेसनको पसल थियो । आगलागीबाट दुवै कारखाना र पसलका सामान जलेको छ,” श्रेष्ठले भने ।
आगलागीको कारण खुल्न नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए । क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए ।