जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाउनोस् – पञ्चाङ्ग निर्णायक विकास समिति


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९
3.5K
SHARES

२६ साउन  काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकैदिन मनाउन आग्रह गरेको छ । यही साउन २७ गते ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति र परम्पराअनुकूल रहेको जनाइएको छ ।

“नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट निर्णय भई स्वीकृत पञ्चाङ्गहरूमा उल्लिखित श्रावण २७ गते शुक्रबार पर्ने ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन हामो धर्म, संस्कृति र परम्परा अनुकूल रहेको छ,” बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, “यसमा कुनै सन्देह नराखी आफ्ना कृत्यहरू गर्न/गराउन यस नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति सम्बन्धित सबैमा हार्दिक निवेदन गर्दछ ।” समितिका अनुसार यो वर्षको जस्तो तिथिहरूको अवस्था वि.सं. १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि परेको थियो । ती वर्षहरूमा पूर्णिमाकै दिन पर्व मनाइएको थियो ।

“…हाम्रा धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्रानुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने हाम्रो परम्परा समेत रहेको छ,” विज्ञप्तिमा थप उल्लेख छ । समितिले कुनै भ्रममा नपरी साउन २७ गते नै रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन अनुरोध गरेको छ ।

“…सबै शास्त्रीय आधार र नेपालमा प्रचलित परम्परा तथा पुराना पञ्चाङ्गमा उल्लिखित श्रावणी कृत्यहरू गर्न कुनै भ्रममा नपरी वि.सं. २०७९ को नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत पात्रो अनुसार २०७९ श्रावण २७ गते शुक्रबार उपाकर्म, श्रावणी, रक्षाबन्धन र गाईजात्रा कर्म गर्न सादर अनुरोध गरिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।