सहमति पालना भएन, फोहोर विसर्जनमा अवरोध कायमै


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २ २०७९
2.6K
SHARES

२ भदौ काठमाडौं ।  धादिङको बन्चरेडाँडामा फोहोर विसर्जन गर्न दिने चारबुँदे सहमतिपछि पनि अवरोध गरिएको छ । आज पनि स्थानीयले अवरोध जारी राखेको बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले बताए । बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिबेँसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीचको छलफलपछि बन्चरेडाँडामा फोहोर व्यवस्थापनको अवरोध हटाउन चारबुँदे सहमति भएको थियो ।

फोहोर बोक्ने गाडीले बाटोमा लिच्चड चुहाउन नपाउने, बन्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा दैनिक गन्ध नआउने औषधि छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो ।

सहायक इन्जिनियर श्रेष्ठका अनुसार बुधबारको सहमतिपछि आज बिहानै उपत्यकाको फोहोर बोकेका गाडी विसर्जनस्थलमा पठाइएको थियो । “आज पनि स्थानीयको अवरोध छ । आज पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिँदै छ,” उनले बाह्रखरीसित भने ।

गएको साता सत्तारूढ दलका स्थानीय नेताले फोहोर फाल्न नदिने पत्राचार गरेका थिए । फोहोर फाल्न नदिने नेताविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत परेको छ । स्थानीयले आन्दोलन चर्काउँदा प्रहरी र स्थानीयबीच पटक–पटक झडप समेत भइसकेको छ ।