काठमाडौंको फोहोर व्यवस्थापनमा सभामुखले मागे कोरियाको सहयोग
६ भदौ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासित नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । आइतबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेटवार्ता गरिएको हो ।
भेटमा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध एवं आपसी हितका विषयमा छलफल भएको थियो । सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४८ वर्षमा दुई देशका जनता र सरकारकाबीच सुमधुर सम्बन्ध रहेको बताए ।
उनले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गरे । नेपाली कामदारको कोरियामा प्रशंसा भएकामा खुसी समेत व्यक्त गरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै उनले कोरियाले गरेको द्रुत विकासबाट नेपालले सिक्न चाहेको बताए । नेपाल र दक्षिण कोरियाबीच उच्च समझदारी विकास गरेर जानुपर्ने उनको भनाइ थियो ।
उनले उच्चस्तरीय भ्रमणबाट सम्बन्ध विस्तारमा सहयोग पुगेको चर्चा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन संसदीय मैत्री समूहलाई थप सक्रिय बनाउन सकिने बताए ।
भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधिमण्डलका तर्फबाट कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोनले आफूहरू नेपाललाई माया गर्ने सांसदहरू रहेको बताए । कोरियामा कार्यरत नेपाली कामदार मिहिनेती भएकाले रोजगारदाताले मन पराउने गरेको उनको भनाइ थियो ।
प्रतिनिधिमण्डलका सदस्यले कोरियामा नेपाली कामदारका लागि अवसर बढाउने विषयमा स्वदेश फर्किएपछि श्रममन्त्रीसँग छलफल गर्ने जानकारी दिएका थिए ।
नेपालका विभिन्न सहरमा फोहारमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताउँदै काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्किएपछि गहिरो अध्ययन गर्ने जानकारी उनीहरूले दिए ।