यी क्षेत्रका नदीमा आज बहाव बढ्ने
१९ भदौ काठमाडौं । देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार कुमालगाउँस्थित कालीगण्डकी, मैनाचुलीस्थित कन्काई, वेलस्रोतस्थित कमला, पधेरादोभानस्थित वाग्मती र रजैयास्थित पूर्वी राप्तीमा बहाव उल्लेख्य बढुने पूर्वानुमान छ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।
आज सर्लाही, रौतहट, बारा, सिन्धुली, रामेछाप, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पर्वत, बागलुङ, म्याग्दी र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।
यस्तै, इलाम, झापा, मोरङ, संखुवासभा, उदयपुर, सिन्धुपाल्चोक, पर्सा, स्याङ्जा, तनहुँ, कास्की, गुल्मी, रुकुम पूर्व, दैलेख, अछाम, डोटी र आसपास भई बहने केही साना नदीहरूमा समेत बहाव बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।