नक्कली कर बीजक खरिद गरी साढे ५ करोड कर छली गर्ने व्यवसायीविरुद्ध मुद्दा
१९ भदौ काठमाडौं । राजस्व अनुसन्धान विभागले करोडौँ कर छली गरेको आरोपमा भारत घर भई काठमाडौंमा व्यवसायी धिरज कुमार जयसवाल, वीरगन्जका राहुल कुमार जयसवाल र काठमाडौंका सुमन कुमार श्रेष्ठविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
जयसवालले काठमाडौंमा श्रीजयदुर्गा ट्रेडर्स चलाउँदै आएका छन्। सुमन त्यसका प्रोपाइटर हुन् भने राहुल कारोबारलाई सघाउने व्यक्ति रहेको विभागले जनाएको छ।
उनीहरुले कर छल्न नक्कली कर बीजक खरिद गरेको विभागको आरोप छ। उनीहरुले मूअ करतर्फ १ करोड ७१ लाख ३२ हजार १ सय ७०, आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १ सय ६८ गरी सो रकम बराबरको कर छली गरेको विभागको भनाइ छ। उनीहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधनसहित) ऐन २०५२ अनुसार मुद्दा चलाइएको हो।