वीर अस्पतालअगाडिका टहरामा डोजर चलाइँदै
६ असोज काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअगाडिका टहरामा डोजर चलाउने तयारी गरेको छ । ती टहरामा औषधि पसल छन् ।
औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ देखिएकोले डोजर चलाउने तयारी गरिएको महानगरले जनाएको छ । बुधबार महानगरको नगर प्रहरीले औषधि पसल हटाउन माइकिङ गरेकोे थियो । नगर प्रहरी बलका एसपी दिनेश अर्यालले आज दिउँसो २ बजेतिर सो क्षेत्रमा पुग्ने तयारी भइरहेको बताए ।
“२ बजे वीर अस्पतालअगाडिका टहरा हटाउन जाने तयारी छ,” उनले बाह्रखरीसित भने । महानगरले यसअघि ३५ दिने ‘अल्टिमेटम’ दिएर ‘अवैध’ संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । त्यो समयावधि सकिएसँगै त्यस्ता संरचनामा डोजर चलाइँदै छ ।
बुधबार नक्साल क्षेत्रका संरचनामा महानगरको डोजर चलाइएको थियो । आज नक्सालमा बाँकी त्यस्ता संरचना भत्काउने काम पनि जारी रहने महानगरले जनाएको छ ।