आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु
१८ कार्तिक काठमाडौं। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदैछ। मतदाता शिक्षा कार्यक्रममार्फत् मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए। यसका लागि आयोगले प्रत्येक वडामा रहका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ।
केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ। मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक सामग्रीहरु वितरण गरिने जनाइएको छ।
मतदाता शिक्षा कार्यक्रममा खटिने स्वास्थ्य स्वयंसेविकालाई स्थानीय तहले नै पारिश्रमिक उपलब्ध गराउनेछ भने तालिमसमेत स्थानीय तहमार्फत नै प्रदान गरिएको छ। पछिल्ला निर्वाचनमा बदर मतसंख्या अत्यधिक हुन थालेपछि मतदाता शिक्षा कार्यक्रम थप आवश्यक देखिएको छ।