ग्लेन कम्पनीको इलेक्ट्रिक चुल्हा पड्किएर एकजना गम्भीर घाइते


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २५ २०७९
1.6K
SHARES

२५ कार्तिक काठमाडौं । ग्लेन कम्पनीको इलेक्ट्रिक चुल्हा पड्किएर एकजना गम्भीर घाइते भएका छन् । बिहीबार काठमाडौंको चक्रपथस्थित चुनदेवी, वडा नम्बर ४ मा दिउँसो १ बजे चुल्हो जोड्ने क्रममा चुल्हो पड्किएर ३४ वर्षीया मनिषा अग्रवाल गम्भीर घाइते भएकी हुन् ।

घाइते अग्रवाललाई तत्काल उपचारका लागि चक्रपथको मेट्रो काठमाडौं हस्पिटलमा लगिएको छ । चुल्हो पड्किएर घरका भौतिक वस्तु झ्याल, सिसा, फ्यान टुक्रिएका छन् । मनिषाकी ससुरा ओमप्रकाश अग्रवालसँग मूलधारले सम्पर्क गर्दा केही दिनअघि उक्त चुल्हो टेकुबाट खरिद गरेको ल्याएको बताए ।

उनका अनुसार चुल्हा केही दिनअघि किनेर ल्याए पनि बिहीबारमात्रै जडान गरिएको थियो तर, चुल्हो जडान गरेको १० मिनेटमै पड्किएर मानविय क्षति पुर्यायो । उनले भने, ‘३/४ दिन भयो चुल्हा किनेर ल्याएको । तर, आज चुल्हो फिट गरेको हो तर, चुल्हो फिट गरेको १० मिनेटमै पड्किएर बुहारी घाइते भएकी छन् ।’

कम्पनीका सञ्चालक मनिष गोयललाई फोन गरेर घटनाबारे जानकारी गराउँदा उल्टै धम्कीपूर्ण भाषामा थर्काएको ओमप्रकाशले बताए । उनले भने, ‘घटनापछि यस्तो कमसल चुल्हो बेच्ने भनेर फोनसम्कपर्क गरे । तर, मलाई उल्टै थर्कायो जेजे गर्नुछ गर्नुस् । मलाई केही थाहा छैन ।’

घटना घटेपछि प्रहरीलाई जानकारी दिइएको थियो । ओमप्रकाशका अनुसार घटनास्थलमा प्रहरी आएर रिपोर्टहरु तयार गरेको छ । यसबारे प्रहरीको थप अनुसन्धान आउन बाँकी रहेको छ । भारतीय कम्पनीले उत्पादन गर्दै आएको उक्त चुल्होको नेपालमा आधिकारीक विक्रेता क्लासिक मेकर्स हो । यसको कार्यालय टेकुमा रहेको छ ।