‘तीन घेरामा सुरक्षा प्रवद्र्धन मिलाइएको छ, पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र र त्यसभन्दा बाहिर सेनाले सुरक्षा दिनेछन्’, प्रहरी उपरीक्षक चौधरीले भने ।
मोबाइल टोली र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयले सुरक्षाको दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरी संयुक्त सुरक्षा योजना लागू गरेको छ ।
‘तत्काल त्यस्तो सुरक्षा चुनौती खासै छैन, राजनीतिक दलबीच हुनसक्ने झडप तथा विवादलगायत चुनाव बहिष्कार समूहलाई चुनौतीका रूपमा लिएर सोहीअनुसार सुरक्षा मिलाएका छौं’, उनले भने, ‘बहिष्कार समूहमाथि सूक्ष्म निगरानी बढाएका छौं ।’
प्रतिनिधिसभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा कुल तीन लाख दुई हजार पाँच सय नौ मतदाता छन् । क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन् ।
कञ्चनपुरमा १३२ मतदानस्थल र ३४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा आठ जनाका दरले दुई हजार सात सय ६८ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए ।
कारागारका कैदीबन्दी र कर्मचारीका लागि जिल्ला कारागार कञ्चनपुर र भीमदत्त नगरपालिकामा गरेर दुईवटा अस्थायी मतदान केन्द्र राखिएका छन् ।