काठमाडौंको तापक्रम वर्षकै कम, जुम्लाको –४.५
२५ मंसिर काठमाडौं । तापक्रम घट्दै जाँदा देशभर चिसो क्रमशः बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंमा यस वर्ष आजसम्मकै कम भएको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बाह्रखरीलाई जानकारी दिइन् । उनका अनुसार हिजो बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो ।
आइतबार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । यस दिन वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५.४, ताप्लेजुङको न्यूनतम तापक्रम ६.६, दिपायलको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ ।
महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जनाएको छ ।
