टरिगाउँ विमानस्थलमा हप्तामा पाँच दिन उडान
३ पुष दाङ । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो ।
पछिल्लो समय आइतबार र मंगलबार पनि उडान भर्ने गरेको उनको भनाइ छ । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको हो । अहिले हप्तामा पाँच दिन उडान थप गरिएको उनको भनाइ छ । यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी रहेको छ । निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको छ ।
विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको छ । अहिलेको धावनमार्ग ७५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनका लागि इञ्जीनियरको टोली आएको छ । रासस