विमान दुर्घटना : २५ शव काठमाडौं ल्याइयो


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ३ २०७९
2.3K
SHARES

३ माघ काठमाडौं। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ। नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौं आउने क्रममा छ। दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शव बोकेको सेनाको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। सुरुमा शिक्षण अस्पताल महाराजगञ्जमै हेलिकोप्टर अवतरण गर्ने तयारी गरिए पनि त्यहाँ हुन नसकेपछि पुनः विमानस्थलमा अवतरण भएको छ।

विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने प्रवक्ता निरौलाले बताए। थप शव लिन सोही हेलिकोप्टर पोखरा जानेछ।

दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले छ।