अधिक वायु प्रदूषण
१७ माघ काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढ्दै गएको छ । विशेषतः काठमाडौंलगायत सहरी क्षेत्रमा वायु प्रदूषण बढेको हो । मुख्यतः यो वर्ष बिहानको समयमा वायु प्रदूषण बढ्ने गरेको छ ।
सोमबार बिहान ८ बजे काठमाडौंको वायू प्रदूषण मापन सूचक (एक्यूआई) २५० पुगेको थियो । विगत वर्षको तुलनामा दिउँसो भने केही मात्रामा सफा हुने गरेको छ । “यो वर्ष बिहान प्रदूषण बढी हुँदै आएको छ । तुलनात्मक रूपमा दिउँसो सफा हुने गरेको छ,” वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछाने भन्छन्, “बिहानको तुलनामा दिउँसो हावा चल्नु हो । दिउँसो हावा चल्दा प्रदूण उडाउँदा कम हुन्छ ।”
काठमाडौं उपत्यका पछि पूर्वी नेपालमा प्रदूषण बढी छ । धनकुटामा हावामा प्रदूषणको मात्रा धेरै रहेको लामिछानेले जानकारी दिए । उनका अनुसार तराईका जिल्लामा पनि प्रदूषण बढी छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थकर मानिन्छ । १०० भन्दा माथि एक्यूआई भएको वायुलाई घातक मानिन्छ । छातीको समस्या भएका, वृद्धवृद्धा, मुटुसम्बन्धी रोग भएका र बालबालिका लागि १०० भन्दा माथि एक्यूआई भएको वायु घातक मानिन्छ ।