भारतीय विस्तारवादी शासकलाई अखिल (क्रान्तिकारी)ले दियो चेतावनी


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २२ २०७९
1.8K
SHARES

२२ चैत काठमाडौ । आज नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले एक विज्ञप्ति जारी गर्दै भारतको उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले यही चैत्र २० गते विश्वहिन्दु महासंघको सम्मेलनमा नेपालमा राजतन्त्र र हिन्दुधर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्ति प्रति  चेतावनी दिएको छ । संयोजक पवन कार्कीले हस्ताक्षर गर्दै जारी गरेका हुन् ।

यस्तो छ विज्ञप्ति

राष्ट्रियताको पहरेदारको रुपमा स्थापित हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) सदैव नेपालको राष्ट्रिय अखण्डता र नेपाली जनतामा निहित सार्वभौम सत्ताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको सबैमा सर्वविदितनै छ ।
छिमेकी मुलुक भारतको उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले यही चैत्र २० गते विश्वहिन्दु महासंघको सम्मेलनमा नेपालमा राजतन्त्र र हिन्दुधर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्ति प्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । उक्त अभिव्यक्ति हाम्रो देश नेपालको सार्वभौमिकता, राजनैतिक स्वतन्त्रता र जनभावना माथि गरिएको हस्तक्षेप हो भन्ने हाम्रो ठहर गर्दै यसको हामी घोर भत्सना गर्दछौं ।
नेपालमा कस्तो राजनैतिक व्यवस्था हुने कुन कुन धर्म मान्ने भन्ने अधिकार पूर्णतः नेपाली जनताको आफ्नो सार्वभौम अधिकारको विषय हो । वर्तमान नेपालमा हजारौं नेपाली आमाका सपुतहरुले आफ्नो जीवन बलिदान गर्न तयार भएर लडेको महान जनयुद्ध र जन आन्दोलन बाट २४० वर्षे निरंकुश तानाशाही राजतन्त्रको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नेपाली जनताले आफ्नो हक अधिकार लाई लिपिबद्ध गरी आफ्नै प्रतिनिधि मार्फत संविधान निर्माण गरेका छन् । समानुपातिक, समावेशीता सहित जनताले कुन धर्म मान्ने नमान्ने आफ्नो स्वतन्त्रता धर्मनिपेक्ष राज्यको रुपमा पाएका छन् । तसर्थ यसको विकल्प राजतन्त्र र कुनै एक धर्म हुन कदापि सक्दैन !
नेपाली जनताको जनभावना र सार्वभौम अधिकार माथि खेलवाड गर्ने अधिकार कुनैपनि विदेशी साम्राज्यवादी र विस्तारवादी हरुका दलालहरुलाई हुन सक्दैन । आदित्यनाथको अभिव्यक्ति नेपालको वर्तमान व्यवस्था विरुद्ध सामन्तबाद र पश्चगामीहरु लाई प्रसय दिने र धार्मिक रुपमा असान्ती मच्चाउने प्रपन्च हो । आदित्यनाथ जस्ता अराजकताबादी हरुलाई तत्काल उक्त गलत अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दछौं। साथै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्ति लाई गंभीर रुपमा लिई तत्काल भारत सरकार संग यसको जवाफ माग्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछौं ।

यस्ता प्रतिगमनकारी विदेशी हस्तक्षेप नेपाली जनतालाई कदापि स्वीकार्य हुनसक्दैन । नेपाल र नेपाली जनताको अधिकार माथि धावा बोल्ने दुस्साहस गर्ने आदित्यनाथ हरुका विरुद्ध लाखौँ युवा विद्यार्थीहरु प्रतिरोध गर्न तयार छन् । भारतीय विस्तारवादी शासक हरुलाई चेतना होस् ।
क्रान्तिकारी अभिवादन सहित !