नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तुम्बाहाम्फेको निधन


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २५ २०७९
2.4K
SHARES

२५ चैत काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तेजमान तुम्बाहाम्फेको निधन भएको छ । वि.सं. २०१५ को आमनिर्वाचनमा निर्वाचन क्षेत्र नम्बर–२६, धनकुटाबाट निर्वाचित तुम्बाहाम्फेको शुक्रबार राति निधन भएको हो ।

पार्टीको सातौँ महाधिवेशनपश्चात् जननायक बीपी कोइरालाको सभापतित्वमा रहेको पार्टीको केन्द्रीय कार्यसमितिमा सदस्य रहेका तुम्बाहाम्फेले कांग्रेसको संगठन निर्माण तथा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी तुम्बाहाम्फेको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज नेतृत्वलाई गुमाएको बताए ।

तुम्बाहाम्फेको निधनप्रति कांग्रेसले चैत २५, २६ र २७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने र चैत २६ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गरिने जनाएको छ ।स्वर्गारोहणको १३औँ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्लामा शोक पुस्तिका राख्नुका साथै १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गरिने मुख्यसचिव पौडेलले बताए ।

तुम्बाहाम्फेको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । “नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद तुम्बाहाम्फेको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । उहाँले कांग्रेसको संगठन निर्माण र  प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान पार्टीमा सदा स्मरणीय रहनेछ,” सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले स्व. तुम्बाहाम्फेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चिरशान्तिको कामना साथ उनको शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । रासस