सिंहदरबार र राजधानी अर्कै पालिकामा लैजानू – मेयर शाह
३० चैत काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संघीय सरकारविरुद्ध एकपछि अर्को आक्रोश पोखिरहेका छन्। यसअघि १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर एक सातादेखि उठाइरहेका छैनन्। यस्तोमा बुधबार उनले आफ्ना १४ वटा माग पूरा नगरेसम्म यी तीनै ठाउँको फोहोर नउठाउने घोषणा गरेका थिए।
बिहीबार मध्यान्ह बालेनले संघीय सरकारविरुद्ध झन् कडा टिप्पणीसहित बरु राजधानी काठमाडौं नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन्। मंगलबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बालेनको व्यवहार अराजक र उग्र भन्दै सेचत गराउने निर्णय गरेको थियो।
त्यसपछि पनि बालेनले फोहोर नउठाउने अडानबाट पछि नहट्ने जनाउ बुधबार नै दिइसकेका छन्। यस्तोमा बिहीबार उनले आफूहरुसँग मिलेर काम नगर्ने भए राजधानी नै अन्त सार्न भनेका हुन्।
‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस’, उनले संघीय सरकारलाई चुनौतीसहित भनेका छन्, ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राज्धानी सार्नुस्।’