अबको पाँच वर्षभित्र हाम्रो नेतृत्वमा सरकार बन्छ – सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ३० २०७९
2.3K
SHARES

३० चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको पाँच वर्षभित्र आफूहरुको नेतृत्वमा केन्द्रीय सरकार बन्ने बताएका छन्।  तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा बिहीबार मत माग्ने क्रममा उनले यस्तो बताएका हुन्।  गत मंसिरको निर्वाचनमा २० सांसद घण्टी बजाउँदै संसदमा छिरेको उनले उल्लेख गरेका छन्।

‘अब हामी पाँच वर्षभित्र हाम्रै नेतृत्वको सरकार बनाउने गरी घण्टी बजाउँछौँ’, उनले भने, ‘गत निर्वाचनमा चितवन २ ले दिएको सन्देशअनुसार २० सांसद निर्वाचित भए। अबको पाँच वर्षपछि हाम्रै नेतृत्वमा सरकार बनाउने गरी घण्टी बज्नेछ।’

लामिछानेले तनहुँबासीले पनि स्वर्णिम वाग्लेलाई चितवन २ मा आफूलाई जिताए जस्तै जिताउने विश्वास व्यक्त गरे।  उनले स्वर्णिम वाग्ले तनहुँ १ का मात्रै उम्मेदवार नभएको बताउँदै देशले आश गरेको एकजना नेताका रुपमा ब्याख्या गरे।