एमालेले एक्लै बहुमत ल्याउनेछ – अध्यक्ष ओली
९ वैशाख काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालहरूले सस्तो मूल्यमा विकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।कम्युनिस्ट पार्टी एकता र एकीकरणको माध्यमबाट दुईतिहाइको अवस्थामा पुर्याइएको तर प्रचण्ड–माधव नेपालहरूले सस्तोमा विकेर त्यसलाई ध्वस्त बनाएको ओलीको भनाइ थियो । कम्युनिस्ट पार्टीमाथि वि.सं. २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको जिकिर उनले गरे ।
“कुनै पनि कम्युनिस्टहरू हाम्रै पार्टीबाट गएका हुन् है ! प्रचण्ड कहाँबाट गएका ? यही कम्युनिस्ट पार्टीबाट ऐजेरु पलाएझैँ पलाएको त हो नि ! २००६ सालमा कहाँ दुई, तीनवटा पार्टी बनेको थियो र । यो पार्टी त पछिसम्म एउटै थियो । दुईतिहाइ पुर्यायौँ हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर । पार्टी एकता र एकीकरण गरेर । तर, टुप्पामा बस्ने नेताहरूलाई सही सक्नु भएन । र, उनीहरू बिके,” उनले भने, “यत्तिकै उनीहरूले भोलेन्टरिइली कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला । कुनै कारणबिना कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला । सस्तो मूल्यमा, के कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो । बाहिरबाट देखिने कतिपय स–साना कुराहरू हामी पनि देख्छौँ । तर, भित्री कुरा हामीलाई थाहा छैन ।”ओलीले प्रचण्ड र माधव नेपालहरूले कम्युनिस्ट पार्टीको झन्डा बोकेर हिँडनु बेकार रहेको टिप्पणी समेत गरे । उनले आउँदा निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्षभित्र मुलुकबाट गरिबी समाप्त पार्ने बताए ।
२५ वर्षभित्र एमालेले मुलुकलाई आधुनिक र विकसित राष्ट्र बनाउने ओलीको भनाइ थियो । “म घोषणा गर्न चाहन्छु– आउँदो निर्वाचनमा नेकपा (एमाले)ले एक्लै बहुमत ल्याउनेछ । रोक्ने शक्ति कोही छ भने रोक्नुस् । यस अभियानलाइ रोक्न सक्ने कोही छ भने रोकोस् । यो लुकेर भनिएको छैन, खुलेआम भनिएको छ । आउँदो निर्वाचनमा नेकपा (एमाले)ले एक्लै बहुमत ल्याउँछ । अर्को, त्यसपछिको १० वर्षमा नेकपा (एमाले)ले विकासशील राष्ट्रको राम्रै स्तरमा यस देशलाई उकास्छ । र, यस देशबाट गरिबी भन्ने कुरा समाप्त पार्ने छ । र, खान, लगाउन पुग्ने देशको रूपमा, गरिबी नभएको देशको रूपमा र आधारभूत आवश्यकता परिपूर्ण भएको देशको रूपमा १० वर्षको अवधिमा यसले विकास गर्छ,” उनले भने, “त्यस कामको नेतृत्व नेकपा (एमाले)ले गर्छ । त्यसपछि जब नेकपा (एमाले) सय वर्ष पुग्छ, त्यति बेला नेपाल एउटा आधुनिक विकसित राष्ट्र बनाउनेछौँ, आगामी २५ वर्षमा । त्यस कामको नेतृत्व नेकपा (एमाले)ले गर्छ ।”
एमालेले मुलुकलाई समृद्ध बनाउन चाहेको उल्लेख गर्दै उनले त्यसमा केन्द्रित भएर लाग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन समेत दिए ।