अघिल्लो पटकको भन्दा बढी मत पाउने अपेक्षा छ – रवि लामिछाने
१० वैशाख चितवन। चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफूले अघिल्ला निर्वाचनको भन्दा बढी मत पाउने अपेक्षा गरेको बताएका छन्। विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा भनेका हुन्। लामिछानेले मतदातामा आशा र उत्साह देखिएकोले आफूमा पनि उत्साह बढेको बताए। ‘बिहानदेखि उत्साह देखिएको छ। त्यसलाई मैले सकारात्मक रूपले लिएको छु। यद्यपि मतदाता कति उपस्थित हुनुहुन्छ थाहा छैन तर पनि नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु,’ उनले भने।
लामिछानेले सचेत नागरिकले आफ्नो विवेक प्रयोग गर्नेछन् भन्नेमा ढुक्क रहेको पनि बताए। उनले निर्वाचनको मुखमा रास्वपामाथि भ्रम छर्ने प्रयास भएको बताए। लामिछाने चितवनका विभिन्न मतदान केन्द्रमा पुगेर मतदानको अवस्थाबारे जानकारी लिइरहेका छन्।