अबको पाँच वर्षमा रास्वपाले बहुमतको सरकार बनाउँछ – सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १२ २०८०
2K
SHARES

१२ वैशाख काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच महिनामै दोस्रो पटक संसद यात्रा तय गरेका छन्। मंसिर ४ मा भारी मतले विजयी भएका उनले नागरिकता विवादमा गत माघ १३ गते सांसद पद गुमाएका थिए। नागरिकता पुनर्प्राप्तिपछि तत्कालै उपचुनावमा होमिएका उनले मंगलबार पाँच महिनाअघिका कीर्तिमान भंग गर्दै जित निकालेका हुन्।

लामिछानेले कीर्तिमानी जित निकालेसँगै निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पनि बुझिसकेका छन्।  उनले प्रमाणपत्र बुझेपछि भरतपुरमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै अबको पाँच वर्षमा रास्वपालाई ठूलो पार्टी बनाउने घोषणा गरे।  उनले अबको पाँच वर्षमा आफ्नै नेतृत्वको सरकार पनि बनाउने प्रतिवद्धता जनाएका छन्।

‘अबको पाँच वर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्को सरकार बनाउछौँ,’ उनले भने, ‘नेतृत्व सक्षम भनए हटाएर घण्टी बजाउनेछौँ। तपाईंहरु पनि आँट गरेर अघि बढ्नुस्, हामी घण्टी बजाउँदै अघि बढौँला।’

अचानक सांसद गएपछि फेरि जिताएर चितवनबासीले आफूलाई अमूल्य गुण लगाएको पनि बताए। ‘हामी परिवर्तनका लागि हिँडिरहेका छौँ। तपाईंहरुले लगाएको। गुण इतिहासले बिर्सिने छैन’, उनले भने, ‘मंसिरमा पनि जिताउनु भयो अहिले झनै बलियो मत पाएको छु। मैले गर्दा तपाईंहरुलाई केही दुख भएको छ त्यसमा माफी माग्छु।’