आमा हुनुहुन्न भनेर भर्खंर थाहा पाएँ – कांग्रेस भण्डारी


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १७ २०८०
2.5K
SHARES

१७ वैशाख काठमाडौ । नेपाली काँग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत उहाँ आईतबार साँझ स्वदेश फर्किएका हुन् ।

त्यसक्रममा उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीहरु सबैप्रति आभार र धन्यवाद व्यक्त गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए ।

उनले सो अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई अपिल गरे । प्रतिनिधिसभा सदस्यसमेत रहेका सांसद भण्डारीले आफूले भर्खंरैमात्र आफूसँगै ग्यास विस्फोटमा घाइते भएकी आमा बितेको पनि थाहा पाएको बताए ।

उनले भने, ‘एउटा ठूलो दूर्घटनाबाट हामी आएका छौं । हुन त नेपालमा अहिलेसम्म यो वर्षमा ११० जना नेपाली दाजुभाई दिदीबहिनिहरुले आगजनीको कारण ज्यान गुमाउन परेको छ । मैले पनि मेरो आमालाई हरिकला भण्डारीलाई पनि दुर्घटनामा गुमाएको छु । मैले भर्खर मात्रै थाहा पाएको हुँ कि आमा हुनुहुन्न भनेर ।’

साथै, नेपालमा ग्यास विस्फोटबाट धेरैले ज्यान गुमाइरहेको प्रति दुःख व्यक्त गरे । ‘नेपालमा धेरै आमाबुबाहरुले दुर्घटनाबाट ज्यान गुमाउनु भएको छ । धेरै युवायुवतीहरुले ज्यान गुमाउनु भएको छ । यी हाम्रा दुःखद् पक्ष हुन,’ उनले भने, ‘यस्ता विषयमा जनरल नलेज हामीले दिनुपर्दो रहेछ । हामी ठूला कुरा गर्ने, साना कुरा गर्दै नगर्ने, मसिना कुरा हेर्दै नहेर्ने गर्नाले आज प्रत्येक ठाउँमा यस्तो दूर्घटना भईरहेको छ । मलाई त साथीहरु कसैले बाँच्छ नै भन्नु भएको थिएन । भेन्टिलेटरमा गएको मान्छे यो तीन वर्षमा जम्मा ३ जना बाँचेको रहेछ । म बाँचेर हजुरसँग आउनु पाए । म तपाईहरुको शुभेच्छा, शुभकामना, प्रेरणा र सदभावको कारण मेरो पावर बढ्यो ।’

स्वास्थ्यमा सुधार हुँदै गएपछि उनी स्वदेशमै बसेर उपचार गर्ने गरी स्वदेश फर्किएका हुन् । उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए । सोही घटनामा घाइते भएकी नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो ।