महानगरले सिंहदरबारको उठाउने होइन -अध्यक्ष ओली
१८ बैशाख काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले सरकारले केही गर्न नसकेको दाबी गरेका छन् । सोमबार श्रमिक दिवसका अवसरमा जिफन्डले आयोजना गरेको कार्यक्रममा उनले सिंहदरबारको फोहोर उठाउने काम महानगरको नभएको समेत जिकिर गरे । सहरी विकास मन्त्रालयले जिम्मा दिएको ठेकेदारले फोहोर नउठाएको उनको भनाइ छ ।
“अहिलेको सरकार सरकारमा किन बसिरहेको छ ? जनताले हटाउन सकेका छैनन् त्यो आफ्नो ठाउँमा छ । केही पनि नगर्ने सरकार । सिंहदरबारको फोहोर उठेन । एउटाले फोहोर उठाउँदिन भन्यो,” ओली भन्छन्, “सिंहदरबारको फोहोर महानगरले उठाउने नै होइन । सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने जिम्मा अर्कैलाई लगाएको छ ।”
ओलीले फोहोरमाथि राजनीति गर्ने काम भइरहेको बताए । सरकारले ठेकेदारले फोहोर नउठाउँदा निरीह भएको आरोप लगाए । “सरकारले लगाएको ठेकदारले फोहोर उठाउन थपक्क छोड्यो । किन छोड्यो ? सिंहदरबारमा फोहोर थुपारेर रोग फैलाउन पाइन्छ ?,” ओलीले सोधे । उनले सहरी विकास मन्त्रालयले दिएको ठेकेदारले अन्यत्र पनि फोहोर उठाइरहेको बताए । जनतालाई गुमराहमा राखिएको उनको भनाइ छ । उनले महानगरले सिंहदरबारको उठाउने होइन भनेर सरकारले किन नभनेको भन्दै प्रश्न गरे । त्यस्तै ओलीले महानगरले पनि आफूले त्यहाँको फोहोर उठाउने होइन भनेर भन्न नसेकेको बताए ।