गिरफ्तारी दिन आउँदैछु – नेता रायमाझी


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २१ २०८०
5.1K
SHARES

२१ वैशाख काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव तथा सांसद टाेपबहादुर रायमाझी प्रहरीकाे सम्पर्कमा आएका छन् । बुधबार राति ९ बजेपछि सम्पर्कविहीन रहेका उनले बिहीबार मध्याह्न प्रहरीलाई फाेन गरेका हुन् ।उनले आफैँ काठमाडाैं आएर प्रहरीलाई गिरफ्तारी दिने सन्देश फाेनमा सुनाएकाे प्रहरी स्राेतले जानकारी दियाे । ‘२ बजे आइपुग्छु भन्ने खबर दिनुभएकाे छ’, प्रहरी स्राेतले भन्याे । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझी सम्पर्कविहीन भएका थिए ।

उनी बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडाैं जाने भनेर हिँडेका भए पनि राति ९ बजेपछि माेबाइलसमेत अफ गरेर सम्पर्कविहीन भएको थिए । रायमाझीले भैरहवाबाट काठमाडाैं आउन बुधबार साँझका लागि काटेकाे जहाजकाे टिकटसमेत रद्द गरेकाे थिए ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेकाे छ । बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । याे प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहितका व्यक्तिहरू पक्राउ परिसकेका छन् ।