निर्दोष फसाउन खोजे सहँदैनौँ – अध्यक्ष ओली
२१ वैशाख काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कन नहुने बताएका छन् ।बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीसँग उनले निर्दोषलाई फसाउन खोजे सैह्य नहुने चेतावनी दिए । उनले यस प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी तानिएको हो/होइन भन्ने अध्ययन गरिरहेको बताए ।
“तानिएको हो कि तनाएको हो, हामी अध्ययन गर्दै छौँ । अध्यनन गरेपछि निष्कर्षका साथ आउँछौँ,” उनले भने “निर्दोष पर्नु हुँदैन । दोषी उम्कनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ । उपप्रधानमन्त्री भइसकेको मान्छेलाई षड्यन्त्रपूर्वक ढंगले पक्राउ गर्ने कार्य अघि बढाइएको जिकिर उनले गरे । “एउटा सांसद, पटक–पटक मन्त्री, उपप्रधान भइसकेकेको पार्टीका नेता षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने रहस्यपूर्ण छ,” ओलीले भने, “किनकि, भागेर उम्केर कतै जाने मान्छे त होइन ।”
ओलीले आफूले हिजो फोन गरेर रायमाझीलाई सोध्दा आज काठमाडौं आउने जानकारी दिएको सुनाए । अहिले ‘फरार भएको, पक्राउ भएको’ भन्ने सुनिएको उनको भनाइ छ । यसबारे आफूले प्रधानमन्त्रीको ध्यानकर्षण गराएको उनले बताए ।