नक्कली शरणार्थी प्रकरण : कुनै सम्झौता हुँदैन, दृढ भएर अघि बढ्नुपर्छ – माओवादी केन्द्रको निष्कर्ष
२२ वैशाख काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले नक्कली शरणार्थी प्रकणमा दृढ भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार बालुवाटारमा बसेको पार्टीको अनाैपचारिक बैठकमा बोल्ने अधिकांश नेताहरूले नक्कली शरणार्थी प्रकणमा मुछिएकाहरूको कारबाही प्रक्रिया दृढतापूर्वक अगाडि बढाउनुपर्ने बताएका हुन् । माओवादी केन्द्रका सचिव दिनानाथ शर्माका अनुसार बैठकमा बोल्ने सबै नेताहरूले यस विषयमा कुनै प्रकारको सम्झौता गर्न नहुने बताएका थिए ।
“समृद्धिका लागि भ्रष्टचारलाई नियन्त्रण गर्नुपर्छ । समृद्धिको अभियानसँग सुशासन पनि जोडिएको छ । कोही पनि अन्यायमा नपरोस् र दोषी कोही पनि छुट्न नपाओस् । हामी दृढतापूर्वक अगाडि बढ्नुपर्छ । यो विषयमा यहाँ सम्झौता हुँदैन । जहाँ जे जस्तो छ त्यसअनुसार अगाडि बढ्नुपर्छ । सबैबाट यही आयो,” उनले भने ।