भ्रष्टाचारीलाई छोड्दिनँ – गृहमन्त्री श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २७ २०८०
2.8K
SHARES

२७ वैशाख काठमाडौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताएका छन्।बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे।उनले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताए।

उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए उनले निर्दोष मानिस डराउनुपर्ने आवश्यकता नरहेको पनि उल्लेख गरे।

उनले भने, ‘हाम्रो देशमा अरू थुप्रै  समस्याहरू छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ। कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ र सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्नुपर्छ। ३० लाख खाडी मुलुकमा भएको नेपाली जनता जो आमाबुवाको काख, बालबच्चाको साथ छोडेर बालबालिकाको जीवन रक्षाका लागि श्रम गरिरहेका छन्, उनीहरूलाई यही भूमिमा काम गर्नका लागि भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ। भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मूल रूपमा उठाएका छौं। कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन्। दोषीलाई जहाँ गए पनि छोड्दैनौं, यो हाम्रो प्रतिवद्धता हो।’ गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मूल मुद्दा बनाएको बताए।