गोलभेँडा र अदुवाको माला लगाएर सांसद संसद् पुगेपछि…


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २४ २०८०
3.9K
SHARES

२४ साउन काठमाडौ । भारतको आम आदमी पार्टीका सांसद सुशील गुप्ता बुधवार गोलभेँडा र अदुवाको माला लगाएर संसद् भवन पुगेका छन् । सुशील गुप्ता आम आदमी पार्टीको राज्यसभा सांसद हुन् ।  उनले आधिकारिक ट्विटर अकाउन्टमा गोलभेँडा र अदुवाको माला लगाएको आफ्नो तस्बिर पोस्ट गरेका छन् । यसका साथै उनले लेखे, ‘धेरै भयो महँगो गोलभेँडाको मार, अब पालो…’

सुशील गुप्ताले आफ्नो ट्विटर अकाउन्टमा (मंगलबार) पनि एउटा भिडियो पोस्ट गरेका थिए ।  उनले गोलभेँडा किन्नका लागि मानिसहरूको लामो लाइन देखाए । उनले ट्विटरमा लेखे, ‘संसद्‌भन्दा सय मिटर पर पनि गोलभेँडा किन्नका लागि लामो लाइन लागेको छ । पछिल्ला थुप्रै दिनदेखि हामी संसद्‌मा मोदी जीलाई खोजिरहेका छौँ तर उहाँ कहाँ गायब हुनुहुन्छ, थाहा छैन ।’

उनले भने, ‘देशको जनताले लामो लाइन लागेर गोलभेँडा किन्नुपर्छ । मणिपुर जलिरहेको छ, हरियाणा जलिरहेको छ र महँगीको मारमा पूरा हिन्दुस्तान जलिरहेको छ ।’