विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड
२५ साउन काठमाडौ । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको नाफा एक अर्ब ४ करोड रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष (आव २०७९/८०) मा प्राधिकरणको नाफा सो मात्राले घटेको हो । अघिल्लो आवमा १३ अर्ब ३७ करोड नाफा आर्जन गरेको प्राधिकरणले गत आवमा १२ अर्ब ३३ करोड रूपैयाँ मात्रै नाफा गरेको छ । प्राधिकरणका कार्यर्कारी निर्देशक कुलमान घिसिङले खोलामा पानीको बहाव घट्दा नाफा घटेको बताए ।
बिहीबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गत आवमा शुख्खायाममा खोला तथा नदीनालामा पानीको बहाब घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको नाफा प्रभावित भएको बताए ।
उनले प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी २ वर्षमा ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर १ खर्ब १८ अर्ब रूपैयाँ पुगेको बताए । प्राधिकरणको संचित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड पुगेको छ । वित्तीय सुधार, आन्तरीक रूपमा खपतमा वृद्धि गर्दै निर्यातमा जोड दिईएको छ । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरेको बताए । उनले यसमा प्राधिकरणले होमवर्क गरेको भन्दै छिट्टै जारी हुने बताए ।