यी १२ वाणिज्य बैंकको आधार दर १० प्रतिशतमाथि


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २५ २०८०
2.4K
SHARES

२५ साउन काठमाडौ । वाणिज्य बैंकमध्ये ८ वटा वाणिज्य बैंकहरुको आधार दर मात्र एकल अंकमा आएको छ। गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये १२ वटाको आधार दर दोहोरो अंकमा छ। ऋणीका लागि जहाँ आधार दर कम हुन्छ त्यहाँबाट सापटी चलाउँदा सस्तो पर्छ। बैंकहरुले आधार दरमा प्रिमियम थप गरेर ऋणको ब्याज दर निर्धारण गर्छन्।

सबैभन्दा महँगो आधार दर कुमारी बैंकको छ। कुमारीको १०.९ प्रतिशत छ। पोहोर १०.०८ प्रतिशत थियो। सार्वजनिक वित्तीय विवरण अनुसार, मर्जरमा गएका बैंकहरुको आधार दर पोहोरभन्दा बढेको छ। दोहोरो अंकमा आधार दर हुने १२ बैंकमध्ये ५ वटा गत आर्थिक वर्ष मर्जरमा गएका संस्था हुन्।

हिमालयनले सिभिल बैंकलाई मर्ज गर्नुअघि आधार दर ९.८८ प्रतिशत थियो। मर्जरपछि बढेर १०.८६ प्रतिशत पुगेको छ। कुमारीले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभेको थियो।

लक्ष्मीले सनराइज बैंक गाभ्नु अघि ९.९९ प्रतिशत रहेको आधार दर अहिले १०.७५ प्रतिशत पुगेको छ। ग्लोबल आइएमइ बैंकले बैंक अफ काठमाण्डू (बीओके) लाई गाभ्नुअघि ९.४ प्रतिशत रहेको आधार दर गाभेपछि १०.२ प्रतिशत पुगेको छ। सेञ्चुरी कमर्सियल बैंकलाई गाभ्नुअघि प्रभुको ९.७२ प्रतिशत थियो। गाभेपछि १०.०६ प्रतिशत पुगेको छ। सबैभन्दा सस्तो आधार दर सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको छ। बैंकको ८.०२ प्रतिशत छ। पोहोर ७.८६ प्रतिशत थियो। ब्याजमा भएको कार्टेलिङका कारण बैंकको आधार दर बढेको हो। स्ट्यान्डर्ड चार्टर्डको ९.०२ प्रतिशत पुगेको छ।