काठमाडौँ र ललितपुरका यी क्षेत्रमा आज दिनभर विद्युत् अवरुद्ध हुने


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १६ २०८०
1.7K
SHARES

१६ भदौ काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकु तथा के–थ्री सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ। उक्त स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ।