कोशीका मुख्यमन्त्रीविरुद्धको रिट मल्ल र माथेमाको संयुक्त इजलासमा


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १७ २०८०
1.8K
SHARES

१७ भदौ काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ।  न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको हो। पेसी पहिलो नम्बरमै छ। मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा अपनाएको विधि असंवैधानिक भएको दाबी गरी परेको रिट निवेदन सुनुवाइका लागि पेसी तोकिएको हो।  यसअघि भदौ १५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिए पनि सुनुवाइ भएन।

यसअघि भदौ ७ गते पनि उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ खतिवडाकै एकल इजलासमा भएको थियो। खतिवडाले विश्वाको मत लिएको प्रक्रिया नमिलेको बताएका थिए। कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश दिँदै विश्वासको मत लिँदाको सक्कल फाइल उनले झिकाएका थिए।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए। यसविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका हुन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका छन्।