औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १७ २०८०
1.7K
SHARES

१७ भदौ काठमाडौं । औषधि व्यवस्था विभागले प्रतिजैविक (एन्टिबायोटिक) औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखुवाउन भन्नका लागि रातो धर्का राख्न निर्देशन दिएका हुन् ।

“उपभोक्तले रातो धर्का भएको औषधि चिकित्सकको पर्चा (प्रिस्क्रिशन)को आधारमा खानुपर्दछ, जथाभावी नखाउन भनेर प्रतिजैविक औषधिमा रातो धर्काको अभियान सञ्चालन गरेका छौं”, उनले भने, “औषधिको लेवलमा रातो धर्का भएमा उपभोक्ताले जथाभावी रुपमा नखानु भनेर सचेत गराइने छ ।” उनले रातो धर्का भएको औषधि प्रतिजैविक औषधि हो भनेर उपभोक्तालाई चिनाउन पनि अभियान सञ्चालन गरिएको बताए ।

विभागले बजारिकृत हुने समूह ‘ख’ प्रतिजैविक वर्गको औषधिको पहिलो र दोस्रो ‘प्याकिङ्ग’ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा छ महिनापछि उत्पादन हुने औषधिमा अनिवार्य रुपमा लेवलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ ।

प्रतिजैविक औषधिको प्रयोगबारे प्रयोगकर्तालगायत गैर स्वास्थ्यकर्मीले सजिलै पहिचान गर्न रातो धर्का कोर्ने प्रावधान लागू गरेको जनाइएको छ । प्रतिजैविक औषधिको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रतिजैविक औषधिको पहिलो र दोस्रो प्याकिङ्गको लेवलमा रातो धर्का लगाउने अभ्यास रहँदै आएको छ ।