उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता
२७ भदौ काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ । नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरेका थिए । दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान प्रदान गरे । क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ ।
नेता किमले राष्ट्रपति पुटिनलाई उनको व्यस्त कार्यतालिकाका बाबजुद पनि भ्रमणका निम्ति निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरे। यसबाट उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएका उनले उल्लेख गरे ।
रुसी रक्षामन्त्री सर्गेई शोइगु गत जुलाईमा प्योङयाङको भ्रमणमा थिए । त्यसबेला र हालै द्विपक्षीय संयुक्त नौसैनिक अभ्यासको प्रस्ताव गरिएको छ । दुई नेताबीचको वार्तामा भाग यी विषयका साथै खाद्यान्न सहायतालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । नेता किमका साथ कोरियाली पीपुल्स आर्मी मार्शल पाक जोङ चोन र युद्धक पदार्थ उद्योग विभागका निर्देशक जो चुन र्योङलगायत उच्च सैन्य अधिकारीहरू रहेकाले आपसी सैन्य सहयोग आदानप्रदानमा वार्ता केन्द्रित हुने प्रायः निश्चित रहेको विश्लेषकहरू बताउँछन् ।
युक्रेनविरुद्धको युद्धमा रुसलाई गोला बारूदलगायत हतियारको धेरै आवश्यकता परेको छ । विश्वका सबैभन्दा धेरै सैन्य सामथ्र्य भएका देशमध्येको एक उत्तर कोरियाले रूसलाई आफूसँग भएका तोप, गोली र रकेट प्रस्ताव गर्ने सम्भावना छ । प्योङयाङले पुराना क्षेप्यास्त्र पनि प्रदान गर्नसक्ने विश्लेषकहरू बताउछन् । उत्तर कोरियाको हतियार भण्डारमा रुसलाई चाहिने यथेष्ट उपकरण छन् किनभने उत्तर कोरियाले सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएयता कुनै युद्ध लडेको छैन । यसैबीच, उत्तर कोरियाली नेता रुसमा रहेका बेला दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्वी तटबाट प्योङयाङले छोटो दुरीका दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको घोषणा गरेका छन् ।