पैसा नभएकै कारण उपचारको अभाव हुने छैन – स्वास्थ्यमन्त्री बस्नेत


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ३१ २०८०
2.6K
SHARES

३० भदौ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आज बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना दिँदै मन्त्री बस्नेतले पैसा नभएको कारणले औषधि किन्न नपाएर अब कसैको पनि ज्यान जान नदिइने बताए।

‘बिरामी पर्दा गरिबीका कारण पैसा नभएर उपचार गर्न पाउनुभएको छैन भने हाम्रो सम्पर्कमा आउनुस् म निःशुल्क उपचार गराउँछु, उपचार गर्न नपाएर अकालमै कसैको ज्यान जान दिइने छैन, त्यसको जिम्मा म लिन्छु,’ उनले भने। मन्त्री बस्नेतले गरिब परिवारमा जन्मिएका कारण वा आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश दिदी–बहिनीहरूले उपचार गर्न नसक्नुभएको बताउँदै अब उपचार नपाएर मान्छेको ज्यान जाने अवस्था अन्त्य हुने बताए।

‘केन्द्रमा बसेका स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा उपचार गर्नका लागि पठाएका छौँ, सिन्धुपाल्चोकसहित देशका विभिन्न ठाउँमा स्वास्थ्य सामग्री तथा उपकरण पठाउन थालेका छौँ, अब चाँडै चिकित्सकहरूको दरबन्दी थपेर छ महिनाभित्र देशमा स्वास्थ्यको रोजगारी सिर्जना गरी नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि काम हुन्छ’, उनले भने।

उनले शिक्षा र स्वास्थ्य नागरिकका नैसर्गिक अधिकार र मौलिक हक भएकाले स्वास्थ्य र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गराउनमा आफू लागिपरेको बताए।  धादिङको एक जना बच्चाले कक्षा १२ को परीक्षाशुल्क रु दुई हजार दुई सय तिर्न नसक्दा आत्महत्या गर्नुपरेको जस्तो घटना अब दोहोरिन नदिइनेमा मन्त्री बस्नेतले प्रतिबद्धता जनाए।