पाँच वर्षमै थपिए साढे ४२ लाख डिम्याट
७ असोज काठमाडौं । कुनै पनि कम्पनीको प्राथमिक शेयर सार्वजनिक निष्कासनमा आएको बेला खरिद गर्न होस या दोस्रो बजारमा कारोबार गर्न डिम्याट खाता अनिवार्य पर्छ । पछिल्लो केही वर्ष यता शेयर बजार र सार्वजनिक शेयर निष्कासन (आइपिओ)मा सर्वसाधारणको आकर्षण बढ्दो छ ।
पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा शेयर बजारमा नयाँ लगानीकर्ताहरू उल्लेख्यरुपमा भित्रिएका देख्न सकिन्छ । आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको पाँच वर्षको अवधिमै साढे ४२ लाख डिम्याट खाता खुलेका छन् ।
आर्थिक वर्ष २०७५/७६ सम्म डिम्याट खोल्नेहरूको संख्या १५ लाख ७० हजार ५७२ रहेको थियो । उक्त सङ्ख्या आव २०७६/७७ मा आइपुग्दा १७ लाख ५३ हजार पुगेको थियो । यी दुई आवपछि भने धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य मात्रामा थपिएको छ ।
नेपाल धितो पत्र बोर्डका उपनिर्देशक नारायण शर्माले दिएको जानकारी अनुसार आव २०७७/७८ सम्म आइपुग्दा नेपाली शेयर बजारमा डिम्याट खाता खोल्नेको सङ्ख्या ३७ लाख ८९ हजार पुग्यो । आव २०७६/७७ देखि आव २०७७/७८ सम्मको अवधिमै २० लाख ३६ हजार नयाँ डिम्याट खाता थपिएका हुन् ।
त्यस्तै, आव २०७८/७९ को असार मसान्तसम्म आइपुग्दा डिम्याट खाता खोल्नेहरूको सङ्ख्या ५३ लाख ४६ हजार पुगेको थियो । त्यो सङ्ख्या बढेर आव आव २०७९/८० सम्म ५८ लाख २१ हजार पुगेको हो ।
कर्णालीका नागरिकमा छैन शेयरको चासो
कर्णाली प्रदेशका नागरिकहरू अझै पनि शेयर बजारप्रति आकर्षित नभएको पाइएको छ । डिम्याट खाता खोल्नेहरूको सङ्ख्या हेर्ने हो भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । गत आवको असार मसान्तसम्म खुलेका डिम्याट खातामध्ये एक लाख ३४ हजार ३१७ वटा मात्रै कर्णाली प्रदेशबाट खुलेका हुन् । जुन जम्मा डिम्याटको २.३ प्रतिशत मात्रै हुन आउँछ ।
त्यस्तै, जम्मा डिम्याट खाताको संख्यामा सुदूरपश्चिम प्रदेशको हिस्सा ५.८ प्रतिशत मात्रै रहेको छ । जुन तीन लाख ३७ हजार ७६९ वटा खाता हो । यस्तै, मधेस प्रदेशबाट ६ लाख एक हजार २४, लुम्बिनीबाट ६ लाख ६१ हजार ५७९ र गण्डकी प्रदेशबाट ७ लाख ७२ हजार ५२२ वटा डिम्याट खाता खुलेका छन् ।
सबैभन्दा बढी बागमती प्रदेशबाट डिम्याट खाता खुलेका छन् । गत आवसम्म खुलेका डिम्याट खातामध्ये २२ लाख १६ हजार ९०९ वटा बागमती प्रदेशबाट रहेको छ । जुन कूल डिम्याट खाताको ३८.१ प्रतिशत हुन आउँछ । बागमतीपछि कोशी प्रदेशबाट पनि उल्लेख्य मात्रामा डिम्याट खाता खुलेका छन् । यस अवधिमा कोशीबाट डिम्याट खाता खोल्नेहरूको सङ्ख्या १० लाख ९९ हजार ८०४ रहेको छ ।