नेपालको आर्थिक वृद्धिदर ३.९ % हुने विश्व बैंकको प्रक्षेपण


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज १६ २०८०
2K
SHARES

१६ असोज काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ (सन् २०२४)मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आयातमाथिको प्रतिबन्ध हटाएपछि र मौद्रिक नीतिको ‘सपोर्ट’ले औद्योगिक र सेवा क्षेत्रको विकासमा सहयोग पुग्ने विश्व बैंकको आकलन छ ।

यस्तै, आर्थिक वर्ष २०८१/०८२ (सन् २०२५)मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो नेपाल विकास अपडेट २०२३ मा चालु आवमा सबैभन्दा बढी सेवा क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत हुने उल्लेख छ । वास्तविकतर्फ उद्योग क्षेत्रको वृद्धिदर ३.२ र कृषि क्षेत्रको २.१ प्रतिशत वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।

व्यापार घाटा जीडीपीको ३०.१ प्रतिशत हुने विश्व बैंकले जनाएको छ । नेपाल सरकारले चालु आव २०८०/८१ मा आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखेको छ ।