नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ७ २०८०
2.1K
SHARES

काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।  दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।