एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन
काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको मेडिसिटी हस्पिटलमा ९४ वर्षको उमेरमा निधन भएको छ।
उनको निधन सोमबार महानवमीका दिन भएको र अन्त्येष्टि मंगलबार दशमीमा दिन गरिएको पारिवारिक स्रोतले जनाएको छ।
नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष थिए। उनको पहलमा भारतको पंजाब नेसनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो। पंजाब नेसनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर होल्डिङ छ।बिके श्रेष्ठसहित उनको परिवारको बैंकमा सबैभन्दा बढी सेयर छ। उनी भारतमा पनि व्यापार व्यवसाय गर्ने गर्थे। उनले भारतमा पनि बैंक तथा वित्तीय संस्थामै बढी लगानी गरेका थिए।
बैंकर र व्यवसायी एकै घरानाको हुनु हुँदैन भन्ने मान्येता राख्ने श्रेष्ठ पनि हुन्। त्यसैले उनले नेपालमा वित्तीय बाहेक अन्य कुनै व्यवसाय गरेका थिएनन्।
गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई नै अध्यक्ष चयन गरेको थियो।२०७५ सालमा बैंकर्स संघको साधारणसभामा श्रेष्ठको सम्मान गरिएको थियो। त्यस कार्यक्रममा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले श्रेष्ठ बैंकिङ क्षेत्रको गुरु रहेको प्रतिक्रिया दिएका थिए।
अधिकांश समय भारतमा बस्ने श्रेष्ठले त्यसबेला सम्मान ग्रहण गरेपछि नाफामुखी हुँदै गएका बैंकरहरुलाई ‘बैंकहरु घाटा भएर डुब्दैनन्। खराब कर्जा बढ्यो भने चै डुब्ने,’ मन्त्र सिकाएका थिए।