३० करोडको राहत सामाग्री चीनले बुझायो
२२ कार्तिक पोखरा। चिनियाँ राजदुत छन् सङले झण्डै ३० कराेड बराबरकाे राहत सामाग्री नेपाललाई हस्तान्तरण गरेकाे छ । चिनियाँ राजदुत सङले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।
आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे। नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुस्खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
दुईवटा एयरक्राफ्टबाट ४ हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।
आज बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी छ।