इजरायलसँग सम्झौताको नजिक छौं – हमासका नेता


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ५ २०८०
1.5K
SHARES

५ मंसिर काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ । हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि थ्याङ्कस गिभिङको एक कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमास सम्झौताको नजिक रहेको संकेत गरेका थिए । इजरायलले आक्रमण रोक्ने र त्यसको बदला हमासले बन्धक बनाएका केहीलाई रिहा गर्नसक्ने बाइडेनको भनाइ छ ।

मानवीय सहायता संगठन रेडक्रस इन्टरनेशनल कमिटी (आईसीआरसी) ले यसअघि हमासको बन्धकबाट छुटेकाहरुलाई सहयोग गरेको थियो । हाल आईसीआरसीका प्रमुख हमासका नेताहरुलाई भेट्न कतारमा रहेका छन् । त्यसैले पनि इजरायल र हमासबीच छिट्टै कुनै सम्झौता हुनसक्ने सम्भावना व्यक्त भइरहेको छ ।