एनसेलको सेयर खरिद बिक्रीमा नेपालको कानुन पालना गर्छौं – आजियाटा
२० मंसिर काठमाडौ । एनसेल आजियाटाले सेयर खरिद बिक्रीमा नेपालको कानुन पूर्ण रुपमा पालना गर्ने बताएको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफी पत्र पठाउँदै आजियाटाले आफू नेपालको कानूनको पालना गर्न प्रतिवद्ध रहेको बताएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी गराए ।
अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष खनालले एनसेल खरिद बिक्रीमा नेपालको कानून पालन गर्न एनसेल आजियाटाले तयार रहेको बताएका हुन् । यसअघि आजियाटाले सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिई एनसेलको सेयर किनबेच गरेको भन्दै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेखेको थियो । जसमा सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको समेत जानकारी गराइएको थियो ।
‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणले मंसिर १५ गते आजियाटालाई काटेको पत्रमा उल्लेख थियो ।