वैदेशिक सहायता प्रतिबद्धतामा ६०.८ प्रतिशतले कमी


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस ४ २०८०
1.8K
SHARES

४ पुस काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिनामा नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिबद्धतामा ६०.८ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक सहायता प्रतिबद्धता घटेको हो ।अर्थ मन्त्रालयका अनुसार २०८० को साउन, भदौ, असोज र कात्तिकमा नेपालले ४० अर्ब ६९ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले एक खर्ब तीन अर्ब ९३ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ३५.१ प्रतिशत र ऋण सहायता ६४.९ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा ४०.९ प्रतिशत रहेको छ ।कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी विश्व बैंक, एसियाली विकास बैंक युरोपियन युनियनबाट क्रमशः ३३.७ प्रतिशत, ३२.४ प्रतिशत र २६.१ प्रतिशत रहेको छ ।