बढ्यो घरजग्गा व्यवसाय


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २ २०८०
2.9K
SHARES

२ माघ काठमाडौं । पुस महिनामा चालु आर्थिक वर्षकै धेरै संख्यामा घरजग्गाको कारोबार भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार पुस महिनामा घरजग्गाको लिखत पारित ४५ हजार २७७ संख्या भएको छ, जुन चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा सबैभन्दा धेरै हाे ।

मंसिर महिनामा ४१ हजार ८५१ संख्यामा घर जग्गाका लिखत पारित भएको थियो । पुस महिनामा अपार्टमेन्टको लिखत पारित २८ वटा भएको छ, मंसिर महिनामा यस्तो संख्या जम्मा २२ वटा मात्रै रहेको थियो ।

कारोबार बढ्दा सरकारले पुस महिनामा जग्गाको कारोबारबाट पुँजीगत लाभकर आम्दानी पनि वृद्धि गरेको छ । पुस महिनामा सरकारले घरजग्गाका कारोबारबाट १ अर्ब १० करोड ९ लाख ४० हजार ८२ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ । यस्तो लाभकर सरकारले मंसिर महिनामा ९६ करोड ४५ लाख ४ हजार ८ सय ९७ मात्रै संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा लिखत पारित ३९ हजार दुई सय ६३ र नामसारी तीन हजार एक सय ५९, भदौ महिनामा लिखत पारित ३५ हजार छ सय ८६ र नामसारी दुई हजार आठ सय ४३ वटा भएको थियो भने असोज महिनामा ३९ हजार आठ सय ८१ लिखत पारित र तीन हजार दुई सय ३७ वटा नामसारी भएको थियो ।