एकैदिन ८ अर्ब माथिको सेयर कारोबार
२ माघ काठमाडौं । आइतबारको बजारमा एकैदिन ८ अर्ब माथिको सेयर कारोबार भएको छ । कारोबार खुलेदेखि निरन्तर बढेको बजारमा दिनभरमा ८ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जुन विगत एक वर्षयताकै सर्वाधिक कारोबार हो ।
बजारमा परिसूचक पनि ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.५७ प्रतिशतले बढी हो भने गत साउन यताकै उच्च बिन्दु हो ।
बजारमा सोनापुर मिनिरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बढेको बजारमा १५ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा बुटवल पावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, नेपाल वेयरहाउजिङ्ग कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दिी हाइड्रो, अप्पर तामाकोशी हाइड्रोपावर, न्यादी ग्रुप पावर, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था र लिवर्टी इनर्जी कम्पनी रहेका छन् ।
त्यसैगरी, बजारमा कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको छ । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २१३ अंकले बढेको छ ।