कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्सलाई प्रवेश गराउन सकारात्मक छु – अर्थमन्त्री
१८ माघ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित रहेको बताए ।
उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताए । बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने जानकारी दिए ।
‘चार्टड एकाउण्टेन्सहरुले जुन प्रतिक्रिया यहाँ गर्नुभएको छ । पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट किञ्चित नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिज्ञा गर्दछु भनेर जुन प्रतिज्ञा गर्नुभएको छ । यति सम्झिएपछि धेरै कुरा सुध्रिन्छ । लेखा र चार्टडमा ठिक हुने बित्तिकै धेरै कुरा ठिक ठाउँमा आउँछ । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन टेक्निकल इररको कारण हो, कुन सिरियस समस्या छ, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ । त्यसलाई म गम्भीरताका साथ लिन्छु’, उनले भने । मन्त्री महतले देशको अर्थतन्त्रले बिस्तारै लय समातिरहेको बताए ।