परिवर्तन अनुभूति हुने काम गर्ने छु – पर्यटनमन्त्री तामाङ
३ चैत नुवाकोट । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफ्नो कार्यकालमा राष्ट्रकै निमित्त नयाँ र परिवर्तन अनुभूति हुने काम गर्ने योजना रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) पञ्चकन्या गाउँपालिकाले शनिबार घलेभन्ज्याङमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री तामाङले आफू कुनै गाउँ, निर्वाचन क्षेत्र वा जिल्लाको मात्रै मन्त्री नभएकोले सिंगो देशका निम्ति नयाँ काम गर्ने केन्द्रित रहेको बताए ।’संयोग र अवसरको बीचबाट विकासका कार्यहरु हुने गर्छ । म विभागीय मन्त्री भएको छु । मैले यो गाउँमात्रै होइन । निर्वाचन क्षेत्र, जिल्ला र सिंगो देशलाई पनि हेर्नुपर्छ,’ मन्त्री तामाङले भने, ‘मेरो कार्यकालमा समग्र राष्ट्रकै निमित्त संस्कृति, पर्यटन र नागरिक उड्डयनको क्षेत्रबाट सबैले नयाँ र परिवर्तनको अनुभूति हुने खालको काम गर्न सक्छु कि सक्दिनँ । मेरो चिन्ता त्यहाँनिर छ ।’
मन्त्री तामाङले मन्त्रालयमा बुझ्दा चालु आर्थिक वर्षका योजना, परियोजना पूरा गर्न बजेट अपुग रहेकाले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कुरा राखिसकेको सुनाए । मन्त्रालयबाट गरिने कामका लागि बजेट नपुग्ने विषय राखेकोमा प्रधानमन्त्री दाहालले पुनर्विचार गर्ने वचन दिएकोसमेत उनले जानकारी गराए । ‘हाम्रो भर्खरै टुटेको गठबन्धनका दल र नेताहरुसँग नमिलेको विषय बजेट पनि थियो । अरु धेरै मुद्दाहरु नमिलिरहेका थिए । अब हामी पुनर्विचार गर्ने छु,’ प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै मन्त्री तामाङले भने, ‘तपाईंको मन्त्रालयमात्रै होइन । अरु मन्त्रालयमा पनि त्यही किसिमको समस्या रहेको गुनासो आइरहेका छन् । त्यसलाई पनि सम्बोधन गर्ने विषय सोचेका छौं भन्नुभएको छ ।’मन्त्री तामाङले स्रोत र साधनलाई आवश्यकता र सन्तुलनको आधारमा समुचित र न्यायोचित तरिकाले कसरी वितरण गर्ने भन्नेमा पनि सोचेर काम गरिने प्रतिबद्धता जनाए ।
पार्टी, जनता र मतदाताको साथ, सहयोग र सुझावका आधारमा काम गर्ने भन्दै उनले आफ्नो कार्यकाल सफल हुनेमा पनि विश्वास व्यक्त गरे । ‘भौतिक पूर्वाधार निर्माणमात्रै विकास होइन । अरु नीति, निर्माणका कुराहरुलाई पनि विकासको रुपमा लिन सक्नुपर्दछ । भएका स्रोत र साधनलाई समुचित र न्यायोचित तरिकाले आवश्यकता र सन्तुलनको आधारमा कसरी वितरण गर्ने भन्नेमा पनि हामीले सोच्नु पर्नेछ । यो सबै काम तपाईंहरुकै साथ, सहयोग र सुझावका आधारमा गर्नेछु । म सफल हुनेछु । त्यसका लागि प्रयत्न गर्नेछु ।’आफूले पाएको मन्त्री पदको जिम्मेवारी कसरी पूरा गर्ने र थप चुनौतीको रुपमा लिएको उनको भनाइ थियो । मन्त्री तामाङले आन्दोलनका क्रममा समाजमा बनाएको विश्वासको वातावरण डगमगाउने, विश्वासमा दाग लाग्ने खालको अवस्था सिर्जना हुन नदिन पनि आफू सचेत रहने बताए ।