लगानी सम्मेलनका लागि तीव्रता दिन अर्थमन्त्रीको निर्देशन
७ चैत काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।मंगलबार साँझ सिंहदरबारमा बसेको तेश्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उनले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिएका हुन् ।लगानी सम्मेलन निर्देशक समितिका संयोजक समेत रहेका अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षालगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताए ।
लगानी सम्मेलनमा अधिकतम बीटुबी (व्यावसायिक साझेदारी) का परियोजनामा लगानी जुटाउन बैठकमा उपस्थित निजी क्षेत्रका प्रतिनिधिहरूलाई उनले आह्वान गरे । निजी क्षेत्रका तीनओटा छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स लगानी सम्मेलनको सहआयोजक रहेका छन् ।
अर्थमन्त्री पुनले विभिन्न देशमा रहेका नेपाली कार्यालयको माध्यमबाट पनि लगानी सम्मेलनलाई सफल बनाउन पहल गर्न आवश्यक रहेको बताए । उनले अवैतनिक दूतहरूसँग पनि भर्चुअल बैठक बसेर लगानी सम्मेलनको प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । उनले लगानी सम्मेलनका लागि गैर आवासीय नेपालीहरूले बढी चासो देखाइरहेकाले उनीहरूलाई पनि बैठकमा सहभागी गराइ उनीहरूको सुझाव लिन सकिने बताए ।